काभ्रे,
रोशी गाउँपालिकामा दुई वटा मोटरेवल पुल बहुबर्षीय योजनामा समावेश भएका छन् । नेपाली कांग्रेस काभपलाञ्चोकका सभापति तथा बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाको पहलमा पुल बहुबर्षीय योजनामा समाबेश भएको हो ।
रोशी गाउँपालिका वडा नं. ५ र ६ जोड्ने पोटाखोला दोभानको पुल र रोशी गाउँपालिका वडा नं. ८ र तेमाल गाउँपालिका वडा नंं ५ जोड्ने गिम्दीबेशीको मोटोरेवल पुल आयोजना बहुबर्षीय योजनामा समाबेश भएको हो ।
गिम्दीबेशीको पुल निर्माणको लागि १३ करोड २६ लाख ४४ हजार लागत अनुमान गरिएको छ । पहिलो आर्थिक बर्ष २०८२÷०८३ का लागि ९ लाख विनियोजन गरेको छ भने आर्थिक बर्ष २०८३÷०८४का लागि ११ करोड र आर्थिक बर्ष २०८४÷०८५ का लागि २ करोड १७ लाख ४३ हजार ८ सय प्रस्ताव गरेको छ ।
त्यस्तै प्रदेश सरकारले पोटाखोल पुल निर्माणको लागि ६ करोड ५५ लाख ५६ हजार ९ सय अनुमान गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ का लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक बर्ष २०८३÷०८४ का लागि ५ करोड र आर्थिक बर्ष २०८४÷०८५ का लागि एक करोड ५० लाख ५६ हजार ९ सय रुपैयाँ प्रस्तावित छ ।
गिम्दीबेशीमा तेमाल गाउँपालिकाले अस्थायी पुल निर्माण गरी आवतजावत गराइरहेको थियो । बर्षातको समयमा सो अस्थायी पुल पटक–पटक बगाउँदै आएको थियो ।
रोशी गाउँपालिका वडा नं. ५ र ६ जोड्ने पोटाखोलामा पुल नहुदा रोशी गाउँपालिका वडा नं. १,२,३,४,५ र ६ का स्थानीयलाई असहज हुनुका साथै महाभारत गाउँपालिकाका स्थानीयलाई समेत असहज थियो । पुल नहुदा त्यस भेगका स्थानीयले बर्षातको समयमा समस्या झेल्दै आएका थिए ।उक्त दुई पुल बनेसँगै स्थानीयले उत्पादन गरेको कृषिजन्य बस्तु र दुग्धजन्य बस्तुहरु बर्षातको समयमा पनि बजार ल्याउन सहज हुनेछ ।













