काभ्रे,
रोशी गाउँपालिका वडा नं.९ रजबासमा अवस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन शिलान्यास भएको छ । कृडाक नेपालको आर्थिक सहयोगमा बन्न लागेको चार कोठे पक्की भवनको हिजो (शुक्रबार) रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र कृडाक नेपालका कार्यक्रम व्यवस्थापक गौतम अधिकारीले शिलान्यास गरेका हुन् । विद्यालयको प्रधानाध्यापक रोसन बोहराको संयोजन रहेको कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक रबिन मैनालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
भवन शिलान्यास गर्नुहुर्दै अध्यक्ष लामाले शैक्षिक गतिविधिमा अग्रणी हुन सफल विद्यालयको नयाँ भवनको निर्माण पश्चात् विद्यालयको शैक्षिक उन्नतिमा थप टेवा पुग्ने बताउनुभयो । वि.स. २०४४ सालमा यसै विद्यालयबाट पढाइ सुरु गरी अहिले गाउँपालिका अध्यक्ष बन्न सफल भएको भन्नुहुदै अध्यक्ष लामाले आफु पदमा रहदा होस वा नरहदा होस यस विद्यालयको समग्र विकासको लागि सधै लागी परिरहने प्रतिबद्धता जनाउनुभयो । भवन शिलान्यासका साथै विद्यार्थी, शिक्षक तथा अभिभावकहरु मिलेर धुमधामका साथ सरस्वती पूजा मनाएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद रेग्मिको सभापतित्वमा भएको कार्यक्रममा रोशी गाउँपालिका–९ का वडा सदस्य निलप्रसाद भुर्तेल, कृडाक नेपालका बृत्त प्रवन्धक दिपक न्यौपाने, भवन निर्माण कार्यका सम्पर्क अधिकृत सुलभ कार्की, भवन निर्माणकर्ता गणेश मोक्तानको लगायतको उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक साधुराम राना मगरले सञ्चालन गर्नुभएको थियो ।













