काठमाण्डौ–नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँ तथा तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको भाउ १९५ रुपैयाँ कायम भएको छ ।








