रोशी सहकर्मी–माघ २०,
२०७६,काभ्रे/

दोलखाका तात्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप पाँचवटा मुद्दामा आरोप पत्र दायर गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विशेष अदालत, काठमाडौंमा छ लाख ५२ हजार ६०० रुपियाँ बिगो कायम गरी रिजालमाथि कारबाहीको मागसहित आरोप पत्र दायर गरिएको छ ।
रिजालले मोलाहिजा गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि आयोगले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । आयोगको अनुसन्धानबाट रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी सेवाग्राहीसँग एक लाख पचास हजार रुपियाँ नदिएमा कारागारमा पाँच वर्ष थुन्ने धम्की दिइ सेवाग्राहीबाट पचास हजार रुपियाँ लिएको खुल्न आएको छ ।
रिजालले फरक फरक सेवाग्राहीसँग ५० हजार, ९० हजार, ३५ हजार र ४० हजार रुपियाँ घुस लिएको आयोगको अनुसन्धान तथा छानबीनबाट खुलेको छ । प्रवक्ता कोइरालाले अनुगमनमा नगई प्रजिअ रिजाल कार्यालयमा बसेर आफैंले सुरक्षा समितिको बैठक राखी अनियमित तरिकाले ७७ हजार ६०० रुपियाँ लिएको अनुसन्धानबाट खुलेको र उनले पनि स्वीकार गरेका छन् । रिजाललाई आजै विशेष अदालत, काठमाडौंमा बुझाइएको छ । रिजाललाई करिब तीन साता अघि अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

Facebook Comments Box