रोशी सहकर्मी–फाल्गुन ०२,
२०७६,काभ्रे/

काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको छ । गाँउपालिका भित्र बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समुहका निरक्षर मध्ये ९६.८३ प्रतिशत नागरिक साक्षर भएपछि बिहिबार साक्षर घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष दिननाथ गौतमको साक्षर घोषणा प्रस्तावमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पालिकालाई साक्षर पालिकाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा चौंरीदेउराली गाउँपालिका शिक्षा शाखा प्रमुख महानदास लामाले गाउँपालिका भित्रको साक्षर अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकामा ९६.८३ प्रतिशत साक्षर भएको छ ।
योसँगै काभ्रे जिल्लामा भएका १३ वटै स्थानीय तह साक्षर घोषणा भएका छन् । यस अघि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा रोशी, महाभारत, तेमाल, बेथानचोक, भुम्लु, र खानीखोला गाँउपालिका साक्षर घोषणा भईसकेका छन् ।
कार्यक्रममा संघीय सासंद गंगा बहादुर दोङ, प्रदेश सांसद रत्न ढकाल लागायतले मन्तव्य राखेका थिए । जिल्लाका सबै स्थानीय तह साक्षर भएपछि शुक्रबार शिक्षा विकास समन्वय ईकाई र जिल्ला साक्षर घोषणा समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ । समितिले साक्षर जिल्ला घोषणा गर्ने तयारी तिव्र रुपमा बढेको बताएको छ ।
साथै यसै अवसरमा चौंरीदेउराली गाउँपालिकामा अध्यापन गर्ने भूपू शिक्षकहरुलाई उनीहरुले पु¥याएको योगदानको कदर गर्दै मन्त्री पोखरेलले सम्मान गरेका थिए ।
हाल ३८ वटा विद्यालय रहेको गाउँपालिका भित्र ११ माबि र एक क्याम्पस रहेको गाँउपालिका अध्यक्ष गौतमले जानकारी दिए । साक्षर गाउँपालिका घोषणा गर्न सहयोग गर्ने विभिन्न व्यक्ति, संघ,संस्था, सरोकारवाला निकायलाई उनले धन्यवाद दिए ।

Facebook Comments