रोशी सहकर्मी–फागुन ११,
२०७६,कटुञ्जे/

जिल्लाको रोशी गाउँपालिकाले दुईवटा एम्बुलेन्स समुदायलाई हस्तान्तरण गरेको छ । रोशी गाउँपालिकाको भौगोलिक अवस्था, वि.पि. राजमार्गको बढ्दो सवारी दुर्घटना तथा रोशीको ३९ हजार जनताको आवश्यकतालाई मध्यनजर गर्दै आज (आईतबार) एक कार्यक्रमका बिच प्रमुख अतिथि संविधान सभा सदस्य तिर्थ लामा र गाँउपालिका अध्यक्ष दलबहादुर (डि.बी) लामाले संयुक्त रुपमा समुदायलाई हस्तन्तरण गरेका हुन् ।

गाउँपालिकामा भएको एउटा सवारी साधन अपुग भएपछि पालिकाको तेस्रो गाउँसभाले अर्को दुईवटा सवारी साधन खरिदका लागि बजेट नियोजिन गरेको थियो । तर चौथो गाउँसभामा पालिकाका लागि दुईवटा सवारी साधन भए पुग्छ, एउटा मात्रै किनौँ र बच्ने पैसाले पालिकाको लागि एम्बुलेन्स किन्न उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाले प्रस्ताव गरेकी थिईन् ।
उपाध्यक्षकै प्रस्ताव अनुसार पालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले बताए । उपाध्यक्षलाई दिइएको सवारी साधन वापतको रकमले गाडि नकिन्ने भने पछि सोही अनुरुपम दुई वटा एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरिएको हो । महिन्द्रा कम्पनीसँग सम्झौता गरी १० लाख ५० हजार २ सय ९६ रुपैयाँमा प्रति थान खरिद गरिएको उनले जानकारी दिए ।

सो एम्बुलेन्सहरु रोशी गाँउपालिका वडा नं ५ का एम्बुलेन्स सञ्चालन समिति अध्यक्ष दिलदार्जे लामा र वडा नं ११ का एम्बुलेन्स सञ्चालन समिति अध्यक्ष गणेश आलेमगर (बले) लाई हस्तान्तरण गरिएको हो । हस्तन्तरण गरिएको एम्बुलेन्सले रोशी गाँउपालिका वडा नं ५ र ११ मा रहेको संचालक समिति मार्फत सेवा दिनेछन् ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य पुर्व सांसद तिर्थ लामाले रोशीको ३९ हजार जनताको जीवनस्तर उकास्ने र समृद्ध गाउँपालिका बनाउनतर्फ लागि परिरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउने जिम्मा हाम्रो काँधमा छ भन्दै यो पार्टी त्यो पार्टी नभनी सबै राजनीतिक दल एकजुट भएर लागि पर्न आवश्यक रहेको बताए । “हरेक व्यक्ति, समाज मिलेर नै समृद्ध हुने भएकाले उपाध्यक्ष ज्यू बाट जुन पहल भएको छ, त्यो सह्रानिय छ” लामाले बताए ।
त्यस्तै रोशी गाउँपालिका अध्यक्ष डि.वि. लामाले एम्बुलेन्स खरिद गर्न जति महत्वपूर्ण छ, रोशीका ग्रामीण भेगका सडक सञ्चालनमा ध्यान दिन उत्तिकै महत्वपूर्ण रहेको बताए । साथै एम्बुलेन्सको संरक्षण, व्यवस्थापन र निरन्तरता दिन सबैको दायित्व भएको भन्दै उनले सस्तो लोकप्रियता भन्दा जनताको आवश्यकतालाई परिपूर्ति गर्ने तर्फ लागि परेको बताए ।।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले आफुलाई गाडिको भन्दा रोशीको जनतालाई एम्बुलेन्सको आवश्यकता भएको कुरालाई मध्यनजर गरी एम्बुलेन्स खरिद गर्न पहल गरेको बताईन् । “विकासको कार्य त पहिला गा.वि.स. हुँदा पनि भएको हो, अहिले पनि भइरहेकै छ” वर्तौलाले थप्दै “मैले इन्धन खर्च वापत्को रकम टुहुरा बालबालिकालाई छात्रावृत्ति वितरण गरेँ भने गाडि किन्ने खर्च २ ओटा एम्बुलेन्स खरिद गर्न पनि सफल भएकी छु” उनले भनिन् ।

कार्यक्रममा संविधान सभा सदस्य ललिता किङरिङ, नेपाली काँग्रेस महा–समिति सदस्य शंकरदास लामा, नेपाली काँग्रेसका नेता तथा समाजसेवी गणेश लामा, रोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, विभिन्न वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments