रोशी सहकर्मी–फागुन २९,
२०७६,काभ्रे/

जिल्ला प्रहरी कार्यालय दोलखाले सक्रियता बढाएसँगै मेलुङ गाउँपालिकामा हुन लागेको एउटा बालविवाह रोकेको छ । आईतबार मेलुङ गाउँपालिका–३ भस्मेका रिपुबहादुर कार्कीकी १८ वर्षकी नाबालिका छोरी मनिषा कार्कीको वडा नम्बर ४ भेड्पुका ललितबहादुर थापाको २३ वर्षीय छोरा विवेक थापासँग हुन लागेको थियो । तर यसबारे जानकारी पाएपछि तत्काल प्रहरी टोली खटाई दुवै पक्षको अभिभावकलाई नेपालको कानुनी प्रावधानबारे जानकारी गराइएको थियो । नाबालिकाको परम्परागत रूपमा हुन लागेको बालविवाह अभिभावककै सहमतिमा रोकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए । अभिभावककै सहमतिमा विवाह रोकेर केटाकेटीलाई अभिभावकहरूको जिम्मा लगाई छोडिएको उनले बताए ।
नेपालको मुलुकी अपराध संहिता– २०७४ को दफा १७३ मा केटाकेटीको उमेर २० वर्ष नपुगी विवाह गरे गराएमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

Facebook Comments