रोशी सहकर्मी–चैत्र २,
२०७६,काभ्रे/

काभ्रेमा पहिलो चरणको दादुरा–रुबेला खोप कार्यक्रम आजबाट सुरु भएको छ । जिल्लाको ८ वटा पालिकामा दादुरा–रुबेला खोप कार्यक्रम सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नगेन्द्र कुमार झाको अनुसार जिल्लामा दुई चरणमा खोप कार्यक्रम संचालन हुनेछन् ।
पहिलो चरणको खोप कार्यक्रममा १० गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणको खोप कार्यक्रम चैत १४ देखि २२ गतेसम्म जिल्लाको पाँचवटा स्थानीय तहमा सञ्चालन गरिने उनले जानकारी दिए ।
दादुरा रुवेला खोप ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाकालाई लगाइने छ । पहिलो चरण अन्तर्गत जिल्लाको भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा कार्यक्रम सञ्चालन भएको छ भने दोश्रो चरणमा बनेपा र पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा कार्यक्रम संचालन हुनेछ ।
यस अघि ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका अभिभावकलाई पालिकाका प्रमुख वा स्वास्थ्य संस्था प्रमुखले निमन्त्रणा पत्र पठाइसकेका छन् । वडाध्यक्षले आफ्नो वडामा कुनै पनि बालबालिका दादुरा(रुबेलाको खोपबाट बञ्जित नभएको सुनिश्चितता गर्नुपर्ने प्रवधान रहेको डाक्टर झाले बताए ।
दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् । काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको जिल्ला पनि हो । जिल्लाको ९ सय ६२ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिनेछ । खोप अभियानमा १ हजार ९ सय २४ जना स्वयंम सेवक र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन हुने छन् ।

Facebook Comments