यश कुमार परियार–चैत्र २०,
२०७६,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले सडकमा अलपत्र परेका १ सय भन्दा बढि मानिसको उद्धार गरेको छ । लकडाउनको समयमा गाडि नपाएपछि गाउँपालिकाको कार्यलय (कटुञ्जेबेशी) अगाडि रहेको बि.पि. राजमार्गमा हिडिरहेका मानिसहरुलाई गाडिको व्यवस्था गरी गाउँपालिकाको सिमाना माम्ती सम्म पुर्याईएको अध्यक्ष डि.बि.लामाले बताए ।

अध्यक्ष लामाले बाटोमा मानिसहरुको हिड्ने क्रम नरोकिएका कारण उद्धारको कार्य पनि निरन्तर जारी रहने बताए ।

टन्टलापुर घाममा काठमाण्डौबाट हिडेर आएका उनिहरुलाई अध्यक्षले गाडिको व्यवस्था गरी माम्ती सम्म पुर्याएका हुन् । अलपत्र परेका हरुलाई नमोबुद्ध नगरपालिकाले रोशीको सिमाना सम्म पुर्याएको थियो । रोशी गाउँपालिकाले आफ्नो सिमाना सम्म र त्यसपछि सुनकोशी गाउँपालिकाले पनि उनिहरुलाई आफ्नो गन्तव्य सम्म पुर्याउन सहयोग गर्ने बताए ।

कोरोना भाईरसको संक्रमण फैलन नदिनका निमित्त सरकारले देश लकडाउन गरेको छ । लक डाउनको समयमा काम गरी खाने मजदुरहरु धेरै मारमा परेका छन् । देशका विभिन्न स्थानमा मजदुरी गर्नेहरु हिडेरै भए पनि घर जाने उद्देश्यले बाटो भरी लामबद्ध देखिन्छन् ।

गाउँपालिका अध्यक्ष डि.बि. लामाले उनिहरुको समस्यालाई मध्यनजर गर्दै सहयोग गरेको बताए ।
यस्तै गाउँपालिकामा कोरोना भाईरस संग सम्बन्धित जनचेतना मुलक कार्यक्रमलाई पनि निरन्तर्ता दिईरहेको उनले बताए ।

Facebook Comments