रोशी सहकर्मी–चैत्र २६,
२०७६,सिन्धुपाल्चोक/

कोरोना भाइरस (कोभीड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना नभएको पुष्टि भएको छ । बाह्रविसे स्वास्थ्य केन्द्रको आइसोलेसनमा वार्डमा तीन र चौतारा अस्पतालमा एक जनालाई कोरोना आशंकामा अस्पताल भर्ना गरिएको थियो ।

आज बिहान आएको रिपोर्टमा चारै जनामा कोरोना नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले बताउनुभयो । बाह्रविसे स्वास्थ्य केन्द्रमा बाह्रविसे नगरपालिका ७ की रेणु विक र उनको बहिनी सुस्मा विक र सोही नगरपालिका २ का रोशन शेर्पालाई चैत १७ गते कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको थियो ।

अब सिन्धुपाल्चोकमा कोरोना आशंकामा कोही पनि विरामी आइशोलेसनमा नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभएको छ ।

Facebook Comments