यश कुमार परियार– बैशाख ३,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाले विदेशबाट आएर घर मै एकान्तबास बसिरहेका २० जनाको को ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले गाउँपालिकामा अन्यत्र देशबाट आएकाहरुको आर.डि.टि. टेस्ट गर्दा कसैमा कोरोना नदेखिएको पुष्टि गरे ।

रोशीमा ११ देशबाट आएका २४ जना सम्पर्कमा आएका थिए ।
त्यस मध्ये चैत महिनामा आएका २० जनाको परिक्षण गरिएको अध्यक्ष लामाले जानकारी दिए । स्वास्थ्य कार्यलय काभ्रेले गाउँपालिकालाई २० वटा किट उपलब्ध गराएको थियो ।

थप किट उपलब्ध भएमा यस कोरोना भाईरस (कोभिड–१९) बाट गाउँपालिकामा संक्रमण फैलन नदिनका निमित्त जोखिम मोलेर काम गर्ने अन्य कर्मचारीको पनि परिक्षण गर्ने अध्यक्ष लामाले बताए । “गाउँपालिकाको विभिन्न नाकामा सुरक्षाकर्मिहरु तैनाथ हुनुहुन्छ, एम्बुलेन्सहरु हिडिँरहेका हुन्छन्, उहाँहरुलाई पनि कोरोनाको जोखिम हुनसक्छ” भन्दै लामाले “मालबाहक सवारीसाधनहरु टाढाबाट आउने भएकाले सुरक्षाकर्मीहरुलाई पनि जोखिम हुन सक्छ, त्यसैले हामीलाई थप किट प्राप्त भएमा उहाँहरुको पनि परिक्षण गर्ने छौँ ।”

स्वास्थ्य कर्मचारीहरुले गरेको कामको प्रशंसा गर्दै लामाले “स्वास्थ्यका कर्मचारीहरु अहोरात्र खटिरहनुभएको छ, यसमा मलाई गर्व लाग्छ” उनले भने “स्वास्थ्य कर्मचारीहरु झनै अति जोखिम क्षेत्रमा हुनुहुन्छ, उहाँहरुको पनि परिक्षण गर्ने थियौ” ।

काभ्रेमा चैत्र ३० गतेबाट आर.डि.टि परिक्षण सुरु गरिएको थियो । आज सम्म गरिएको परिक्षणमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका १/१ जना बाहेक २६३ जनाको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

Facebook Comments