यश कुमार परियार–बैशाख १७,
२०७७,भकुण्डे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ७ भित्र पर्ने भकुण्डे र नौविसे बजार अब हप्ताको ६ दिन खोलिने भएको छ । वडा अध्यक्ष धर्म लामा, नमोबुद्ध चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष बिदुर बर्ताैला र स्थानिय व्यवसायिहरुको उपस्थितिमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । अब देखि शनिबार बाहेक हरेक दिन बिहान ६ बजे देखि १० बजे सम्म (४ घण्टा) खाद्यान्न, तरकारी, फलफुल र मासु जन्य पसल खोल्न दिईने छ ।


यस अघि वडाले मातहतका सम्पुर्ण उद्योग व्यवसायिहरुको राय, सल्लाह र सहमतिमा नै हप्ताको दुई दिन (आईतबार र बुधबार) बिहान ७ बजे देखि १० बजेसम्म बजार खोल्ने निर्णय भएको थियो । तर अस्ती (सोमबार) नमोबुद्ध उद्योग वाणिज्य संघले हप्ताको दुई दिन खोल्दा भिडभाड धेरै भएको र संक्रमण हुन सक्ने भन्दै दैनिक रुपमा बिहान ७ बजे देखि १० बजे सम्म बजार खोल्न सुचित गरेको थियो ।

यसैबिच विना छलफल एकलौटि गरिएको संघको निर्णयबाट नागरिकहरुको स्वास्थ्य प्रति थप चुनौती थपिन सक्ने भन्दै आज वडा अध्यक्ष धर्म लामाले आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा उद्योग वाणिज्य संघले गरेको सो निर्णय प्रति खेद प्रकट गर्दै सबै व्यवसायिहरुको सल्लाह बमोजिम शनिबार बाहेक हप्ताको ६ दिन (४ घण्टा) बजार खोल्न दिईने निर्णय भएको वडा अध्यक्ष लामाले बताए ।

साथै सामान किन्न आउने ग्राहकहरु सँग सामाजिक दुरी कायम गरि लेन देन गर्न पनि व्यवसायिहरुलाई अनुरोध गरे । आफु सचेत भए मात्रै रोग फैलनबाट रोक्न सकिने भन्दै लामाले तोकिएको समय अवधि भन्दा अन्य समयमा अत्यावश्यक परेको खण्डमा बाहेक पसल खोलेमा वडाले जरिवाना गर्नेछ र उक्त रकम नगरपालिकाको विपद कोषमा जम्मा गरिने पनि जानकारी दिए ।

Facebook Comments