२०७७,बैशाख १९,
सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाले नगरवासीलाई सहुलियत दरमा खाद्यान्न, मल, बीउबिजनलगायत सामग्री वितरण गर्दा काँग्रेसका स्थानीय कार्यकर्ताले अवरोध गरेका छन् । लकडाउन लम्बिएपछि बाह्रविसे नगरपालिकाले नगरभित्रका स्थानीयवासीलाई सहुलियत दरमा मल, बीउलगायत अन्य आवश्यक कृषि सामग्री वितरण गर्न शुरु गरिएको थियो तर काँग्रेसका केही स्थानीय कार्यकर्ताले यो कार्यमा अवरोध गरेको बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले आरोप लगाए ।

‘बजारमा एक हजार ७०० बढी मूल्य पर्ने युरिया मल हामीले सबै गाउँमा रु एक हजारमा उपलब्ध गराएका थियौँ, तर काँग्रेसका स्थानीय कार्याकर्ताले राम्रो कार्यमा पनि अवरोध गर्न शुरु गरेका छन्’, प्रमुख शेर्पाले भने । बजारबाट एक बोरा मल खरिद गरेर नगरको विकट बस्तीमा लैजाँदा प्रतिबोरा रु दुई हजार ७०० सम्म पर्न आउँछ तर नगरले रु एक हजारमा स्थानीयवासीको घरघरमै हामीले मल लगिदिएका छौँ’, प्रमुख शेर्पाले भने ।

वडा भवन शिलन्यास

मेलम्ची नगरपालिका–२ को वडा कार्यलय भवनको आज शिलन्यास भएको छ । नगरप्रमुख डम्बर अर्याल तथा उपप्रमुख भगवती नेपालले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । साढे तीनतलाको उक्त भवन इ–लाइब्रेरीलगायत अपाङ्गतामैत्री हुने मेलम्ची नगरपालिकाका सूचना अधिकारी जीतबहादुर कार्कीले बताए । हाल जाल्पादेवी माविमा वडा कार्यलय सञ्चालन भइरहेको छ । रु एक करोड ९० लाखमा बन्ने उक्त भवन १८ महिनाभित्रमा निर्माण भइसक्ने उनले जानकारी दिए । मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले सामाजिक दूरी कायम गरी निर्माणकार्य गर्न व्यवसायीलाई अनुरोध गरेका छन् ।

घरघरमा शिक्षण अभियान

त्रिपुराशुन्दरी गाउँपालिका–३ धुस्कुनले घरघरमा शिक्षण अभियान शुरु गर्ने भएको छ । वडा समितिको बैठकको निर्णयअनुसार अन्तिम परीक्षाको नतिजाअनुसार विद्यालयले नै भर्ना गर्ने र अन्य विद्यालयबाट आउने विद्यार्थीलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा भर्ना गरिने वडाध्यक्ष सुकदेव रिसालले बताए ।

उनका अनुसार छुट भएका विद्यार्थीलाई स्वयंसेवक परिचालन गरी भर्ना तथा पुस्तक घरघरमै पुगेर वितरण गरिने छ । भर्ना यही वैशाख २६ गतेभित्र गरिसक्ने उनले जानकारी दिए । धुस्कुनमा आठ विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् ।

-रासस

Facebook Comments Box