यश कुमार परियार–बैशाख ३१,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा भोलि (बिहिबार) देखि लागु हुने गरी सबै प्रकृतिको पास रद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यलय काभ्रेले आज एक सुचना निकाल्दै भोलि (बिहिबार) बाट अर्को निर्णय नभएसम्मका लागि जारी भएका हस्त लिखित वा ई–पास रद्ध गर्ने निर्णय भएको जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि गृह मन्त्रालयले हिजो उपत्यकाका ३ जिल्ला बाहेक एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास खारेज गर्न सबै जिल्लालाई परिपत्र गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको खुकुलो भएकोमा असन्तुष्टि जनाए लगतै गृह मन्त्रालयले सबै जिल्लालाई परिपत्र गर्दै जेठ १ गतेबाट लागू हुने गरी सबै पार खारेज गर्न निर्देशन दिएको हो ।

अब एक जिल्लाबाट अर्को जिल्ला जाने गरी अत्यावश्यक कामका लागि पास जारी गर्नुपर्ने अवस्था आएमा उपत्यका बाहिरका जिल्लाहरुको हकमा पुग्ने जिललाबाट प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्नेछ । उपत्यका प्रवेश गर्ने पासका लागि गृह मन्त्रालयको स्वीकृति लिएर नम्बर समेत खुलाउनुपर्छ ।

पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । २६ वैशाखदेखि लकडाउन केही खुकुलो भएसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्ति कार्यालयको परिचय पत्र देखेर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियमक निकायबाट पास अनिवार्य गरिएको छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागले जारी गरेको पासबाट मात्र आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

Facebook Comments Box