यश कुमार परियार–जेठ ३,
२०७७,काभ्रे/

धुलिखेल अस्पतालमा बिहीबार राति उपचारको क्रममा निधन भएकि सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको २९ वर्षिय महिला कोरोना भाईरसकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब पुनःपरिक्षणमा पनि कोरोना पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास प्रस्वासमा समस्या भएपछि उनलाई बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको थियो । तर उनको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो ।

२९ वर्षकी ती महिलाले बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माउनको लागि भर्ना भएकी थिइन् । उनले २४ गते बच्चालाई जन्म दिएकी थिइन् । शिक्षण अस्पतालबाट २५ गते डिस्चार्ज भएकी उनलाई बाह्रबिसे पुगेपछि स्वास्थ्यमा समस्या देखिएको थियो ।

नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । नेपालमा कोरोना भाईरसबाट अहिले सम्म २ सय ८१ जना संक्रमीत भएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box