रोशी सहकर्मी–जेठ २१,
२०७७,बनेपा/

बनेपा नगरपालिका वडा नम्वर ४ स्थित उग्रचण्डी भगवती मन्दिरमा रहेको भगवतीको मुर्तिको शिलाबाट बुधबार बिहानबाट पसिना आउन थालेको छ । भगवतीको शिलाबाट पसिना आएपछि अनिष्ट हुने भन्दै स्थानीयहरु पूजापाठ गर्न मन्दिर जान थालेका छन ।

विहान ७ बजे मान्छे रोएको जस्तो आवाज सुनिए लगत्तै पसिना आउन थालेको भए पनि पुजारीहरुले ९ बजे मात्रै थाहा पाएका थिए । मन्दिर व्यवस्थापन समिति तथा मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यकाले भगवतीमा पसिना आएपछि अनिष्ट हुने भएकाले स्थानीय त्रसित रहेको बताउनुभयो । उहाँका अनुसार भगवतीको मूर्तिको शिलाबाट रगत र पसिना आएको एक सय ९४ वर्षपछि २०७१ कात्तिक १५ गते पुनः पसिना आएको थियो । त्यसको पाँच वर्ष पछि आज बुधबार विहान देखि मन्दिरको शिलाबाट पसिना बग्न थालेको हो ।

कर्मचार्यले २०७१ कात्तिक १५ गते आएको पसिनाका कारण २०७२ बैशाखमा भूकम्पका गएको जानकारी दिनुभयो । त्यती बेला हामीले तत्कालै क्षमापूजा गरेकाले ठूलो जनधनको क्षति हुन भने पाएन । वि.स १८७७ साल पुस ४ गते शनिबारको दिन भगवतीको मूर्तिमाथिबाट रगत खसेर भगवतीको ढाडमा परेको थियो । सोही वर्ष माघ ३० गते पनि शरीरको बीच भागबाट रगत आएको थियो । यसरी भगवतीको शरीरबाट रगत बगेपछि तत्कालीन अवस्थामा हैजा लागेर धेरै नालावासीको मृत्यु भएको स्थानीयवासी बताउँछन् । हैजा लागेर धेरैको मृत्यु भएपछि जप गरी भगवतीको जात्रा गरिएको थियो । पलाञ्चोक भगवती, शोभा भगवतीलगायतका चार भगवतीमध्ये नाला भगवती पनि एक महत्वपूर्ण भगवतीको रूपमा मानिन्छ ।

Facebook Comments