यश कुमार परियार–असार १,
२०७७,काभ्रे (रोशी)/

जिल्लाको रोशी गाउँपालिकाका कोरोना संक्रमित पुरुषको परिवारको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको धुलिखेल अस्पतालमा पीसीआर परिक्षण गर्दा गत जेठ २३ गते कोरोना सङक्रमण पुष्टि भएको रोशी गाउँपालिका वडा नम्बर १० का पुरुषको परिवारमा कोरोना नदेखिएको गाउँपालिका अध्यक्ष डि.बि. लामाले जानकारी दिए । रोशी ९ मंगलटारमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका पुरुषमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरिएको र ७ जना परिवारको स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष लामाले जानकारी दिए ।

स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठका अनुसार कोरोना पुष्टि भएका पुरुष भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्केका थिए । उनको आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाईएको थियो । क्वारेन्टाईन बसेर घर गएका उनि महाभारत गाउँपालिकामा भारतबाट आएका साथीलाई मोटरसाईकलमा राखी पुर्याउन गएका थिए । यो जानकारी पाउना साथ उनलाई फेरी क्वारेन्टाईनमा ल्याएर राखिएको थियो । पछि पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनको परिवारको स्वाव संकलन गरी पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए ।

मोटरसाईकलमा बसेर जाने महाभारतका नागरिकमा भने पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए । संक्रमित वडा नम्बर १० का २ जना र वडा नम्बर ३ का १ जनाको भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेकाले २/४ दिनमा घर फर्कने उनले जानकारी दिए । हाल मंगल जन विजय माविको क्वारेन्टाईनमा २ जना र लक्ष्मी नारायण माविको क्वारेन्टाईनमा ४ जना गरी ६ जना रहेका छन् । ५ जनाको आज स्वाव संकलन भईरहेको र १ जनाको केहि समय पछि हुने श्रेष्ठले जानकारी दिए । हाल गाउँपालिकामा ८५ बेड क्षमताको क्वारेन्टाईन रहेका छ ।

Facebook Comments