यश कुमार परियार–असार २,
२०७७,काभ्रे/

स्वास्थ्य तथा जनसङ्खया राज्यमन्त्री नवराज रावतले नमोबुद्ध नगरपालिकामा स्वास्थ्य सामग्री हस्ताण्तरण गरेका छन् । सोमबार काभ्रेपलाञ्चोक जिल्लाका क्वारेन्टाइनको अवलोकन गर्नुका साथै नगरपालिकामा स्वास्थ्य सामग्री हस्ताण्तरण गरेका हुन् । क्वारेन्टाइन मापदण्ड अनुसार नभएको मुलुकभरबाट गुनासो आउन थालेपछि राज्यमन्त्री रावत क्वारेन्टाइन अवलोकनमा सोमबार काभ्रेपलाञ्चोक आईपुगेका थिए ।
सोहि क्रममा राज्यमन्त्री रावतले नमोबुद्ध नगर प्रमुख टि.पि.शर्मा तिमल्सिनालाई स्वास्थ्य सामग्री हस्ताण्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्रीहरुमा गाउन २५ थान, सर्जिकल क्याप २५ थान, सु कभर २५ थान, एन ९५ मास्क ५५ थान, पञ्जा ५ सय थान, सेफ्टी चस्मा १० थान, सर्जिकल मास्क ३ हजार थान, सेनिटाईजर ३ सय एमएल २० बोटल, आई आर थर्मोमिटर ४ थान नगरपालिकाको निमित्त र USG colour Droppler 1 Probes एक थान र ECG 3 Channel एक थान मेथिनकोट अस्पतालको लागि स्वास्थ्य राज्यमन्त्रीले नगर प्रमुखलाई हस्ताण्तरण गरे ।

स्वास्थ्य राज्यमन्त्रीले धुलिखेल नगरपालिका वडा नम्बर ७ सञ्जीवनी नमूना माध्यमिक विद्यालय र नमोबुद्ध नगरपालिका वडा नं. ४ जनक माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनको अवलोकन पनि गरेका थिए । क्वारेन्टाइन बेडको अवलोकनपश्चात बोल्दै सरकारले तोकेको मापदण्ड अनुसार काभ्रेपलाञ्चोकमा बनेकोमा खुशी व्यक्त गरे । उनले काभ्रेपलाञ्चोक जिल्लामा डब्लुएचओले भने अनुसार नेपाल सरकारले तोकेको मापदण्ड र स्वास्थ्य मन्त्रालयले बनाएको विधिअनुरुप देख्दा अत्यन्तै खुसी लागेको बताए । भवनको सुगमता, जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, सेना सबैको सहयोगले नै मापदण्ड अनुसार बनेको उनको भनाई छ ।

कोभिड–१९ लाई निर्मूल पार्न जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरू र सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोडदिए । कोभिडविरुद्ध लड्न दिनरात खट्ने स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपुर्ण रहेको बताए । उहाँले मेथिनकोट अस्पताललाई नेपाल सरकारको नीति अनुसार स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य राज्यमन्त्री रावलले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झा, नेपाली सेना, प्रहरी प्रमुखलगायतसँग जिल्लाको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

Facebook Comments