रोशी सहकर्मी–असार ५,
२०७७,काभ्रे/

कोभिड–१९ को महाव्याधीबाट लड्नका लागि चीनको साङ्झुसी जिल्लाको सिगात्से नगरपालिकाले बनेपालाई विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
कोदारीस्थित नेपाल चीनको सीमामा साङ्झुसी जिल्लाका उपप्रमुख वाङ् चेङजुन् र सिगात्से नगरपालिकाको विदेश विभागकी अधिकृत छिरिङ्ग चोङ्दालगायतको टोलीले ती सामग्रीहरु हस्तान्तरण गरेको हो । सिगात्से नगरपालिकाले प्रदान गरेका स्वास्थ्य सामग्रीहरुमा ३० हजार थान मेडिकल माक्स, तीन सय थान एन–९५ माक्स, ३ सय थान पिपिई सुट, इन्फ्रारेड थर्मोमिटर ५० थान, सेनिटाईजर १ सय बोतल, ग्लोब्स १ सय थान र ५० थान गगल्स रहेको बनेपाका वरिष्ठ राजस्व अधिकृत ध्रुवराज नेपालले जानकारी दिए ।

सिगात्से र बनेपा नगरवीच धेरै अगाडिदेखि भगिनी सम्बन्ध रहँदै आएको छ । सिगात्से नगरबाट प्राप्त स्वास्थ्य सामग्रीहरु बनेपा नगरपालिकाले स्थापना गरेको क्वारेन्टिन र आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा फ्रन्टलाइनमा खटिने नगर कर्मचारीहरुलाई उपलब्ध गराउने नगरले जनाएको छ ।

सिगात्सेबाट नेपाल चीनको उत्तरी सीमाना कोदारीमा आइपुगेको स्वास्थ्य सामग्रीहरु बुझिलिनका लागि बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा अध्यक्ष एवं नगर प्रवक्ता श्यामसुन्दर श्रेष्ठ, वरिष्ठ राजश्व अधिकृत नेपाल र जनसम्पर्क अधिकृत जुजुभाई सुद्धकार त्यहाँ गएका थिए ।

बनेपा नगरपालिकाका तत्कालीन निर्वाचित मेयर डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठको कार्यकाल अर्थात सन् २००० मा सिगात्से नगरवीच भगिनी सम्बन्ध कायम भएको हो । त्यसपछि बनेपाबाट जनप्रतिनिधिहरुको टोली २ पटक र कर्मचारीले नगरपालिका हाँकेका बखत एक पटक गरी तीन पटक सिगात्सेको मैत्रीपूर्ण भ्रमणहरु भएका छन् । सिगात्से नगरबाट पनि दुई पटक बनेपामा मैत्रीपूर्ण भ्रमण भइसकेको छ ।

Facebook Comments