रोशी सहकर्मी–असार २०,
२०७७,रोशी (ताङलिङ)/

रोशी गाउँपालिका वडा न १ खहरेपाँगुको ताङलिङमा युवाहरुको सक्रियतामा खेल ग्राम बन्न सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्रालय र रोशी गाउँपालिकाको आर्थिक सहयोगमा ताङलिङ खेल ग्राम बन्न सुरु भएको हो ।
कुल तीन करोड ७१ लाखमा बन्न लागेको उक्त खेल ग्रामको युवा तथा खेलकुद मन्त्रालय र स्थानीय सरकार बीचको सम्झदारीमा बन्न लागेको हो । मन्त्रालयले ७० प्रतिशत र रोशी गाउँपालिकाबाट ३० प्रतिशत र स्थानीय श्रमदानमा उक्त खेल ग्राम बन्ने छ ।

ताङलिङ युवा क्लवका अध्यक्ष धनबहादुर लामा (विजय) ले तीन बर्षमा सक्ने गरी खेल ग्रामको काम सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक बर्षमा मन्त्रालयबाट ५० लाख र गाउँपालिकाबाट १५ लाखको काम भइरहेको छ ।

उक्त खेल ग्राममा १२०/९० मिटरको फूटबल ग्राउण्ड, भलिबल ग्राउण्ड, लङटेनिस, क्रिकेट मैदान, सुइमिङ पुल, प्याराफिट, व्यापारिक भवन सहितको संरचना निर्माण हुने छन । कुल ८० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा उक्त खेल ग्राम बन्ने छ ।

भौगोलिक हिसाबले विकट मानिएको उक्त क्षेत्रमा युवाहरु कै सक्रियतामा खेलकुदका कार्यक्रम हुँदै आएका थिए । स्थानीय उद्धव थापाले २०६८ साल मै स्थानीय युवाहरुले चन्दा ३२ लाख रुपियाँ उठाएर खेल मैदान बनाएका थिए । उपभोक्ता मार्फत निर्माण भइरहेको उक्त खेल ग्राम बनेसँगै रोशी गाउँपालिकाका १२ वटै वडा, बेथानचोक गाउँपालिकाका वडा न २, ३, ५ र ६ नम्बर, नमोबुद्ध नगरपालिका वडा न ८, ९, १० र ११ का युवालाई सहज हुने खेल ग्राम निर्माण समितिका अध्यक्ष देवराज लामाले जानकारी दिनुभयो ।

रोशी गाउँपालिकाका अध्यक्ष डीबी लामाले लकडाउनका बीचमा पनि युवाहरुको काम उत्साहजन रहेको जनाउनुभयो । उहाँले उक्त खेल ग्राम बनेसँगै रोशी मात्र नभई काभ्रेपलाञ्चोक जिल्ला नै उत्कृष्ट हुने विश्वास लिएको जनाउनुभयो ।
साविकको खहरेपाँगु वडा न ९ का १२१ युवा मिलेर खोलेको ताङलिङ युवा क्वलले बार्षिक रुपमा सहयोग उठाएरै स्थानीय क्वल बीच फूटबल प्रतियोगिता गराउँदै आएको छ । गत बर्ष दशैंमा एक लाख पाँच हजार धनराशीको फूटबल प्रतियोगिता गराएको थियो ।

Facebook Comments