
यश कुमार परियार–असार २९,
२०७७,भकुण्डेवेशी/
आदिकवि भानुभक्त आचार्यको २ सय ७ औँ जन्म जयन्तीको अवसरमा रोशी वाङ्गमय प्रतिष्ठानले साहित्य वाचन कार्यक्रम गरी मनाएको छ । नमोबुद्ध नगरभरी रहेका कवीहरुको नेतृत्व गर्ने रोशी वाङ्गमय प्रतिष्ठानले थोरै कवीहरुको संलग्नतामा कार्यक्रम गरेको हो । विश्व भरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात कोभिड–१९ ले गर्दा धेरै मानिसको जमघटमा प्रतिबन्ध लागे सँगै र यस पस्थितिलाई मध्यनजर गर्दै थोरै व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख जनार्दन रिजाल, जनक माविका प्रधानाध्यापक प्रदिप पोखरेल, प्रतिष्ठानका सचिव यन्त्र नाथ खनाल, स्थानिय युवा कवि कमल कुँईकेल, कवि हरि कृष्ण सिलवाल, सभाध्यक्ष एवं जग्गा दाता मुक्तीराज हुमागाँईले आ–आफ्नो कृति प्रस्तुत गरेका थिए । भानु जयन्तीको अवसरमा रोशी वाङ्गमय प्रतिष्ठानका संस्थापक गोविन्द बहादुर थापाले गरेको योगदानको बारेमा पनि चर्चा गरिएको थियो ।

हरेक वर्षको असार २९ गते भानुक्तको जन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाईन्छ । भानुभक्त आचायको जन्म वि.सं. १८७१ असार २९ गते भएको थियो भने वि सं. १९२५ असोज ६ गते उनको मृत्यु भएको थियो । भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिहरू लाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन् ।