रोशी सहकर्मी–असार ३०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकामा बेवारिसे अवस्थामा भेटिएकी वृद्धालाई उद्दार गरिएको छ । रोशी गाउँपालिकाको पहलमा वडा नं ७ स्थित चारसय बेसीको गुफामा भेटिएकी वृद्धालाई मानव कल्याण समाज भक्तपुर (सेवाघर) मार्फत उद्दार गरिएको पालिकाका अध्यक्ष डि.बि लामाले जानकारी दिए ।

उनका अनुसार वि.पि. राजमार्गको छेउको गुफामा बसेकी अन्दाजी ७० वर्ष उमेर समुहकी आफ्नो नाम र ठेगाना स्पष्ट बताउन नसक्ने वृद्धालाई गाउँपालिकाको पहलमा तत्काल उद्धार गरी मानव कल्याणमा पठाइएको हो । बेवारिसे अवस्थामा भेटिएकी मनरोगी बृद्धालाई लिन मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई आएकी हुन् । अब उनको थप उपचार र हेरचाहको जिम्मा मानव कल्याण समाजलाई दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अनुरोधलाई स्वीकार गरेर आएको मानव कल्याण समाज र समाजकी अध्यक्ष सुमित्रा चौलागाईलाई पालिका अध्यक्ष लामाले धन्यवाद दिए ।

Facebook Comments Box