रोशी सहकर्मी–साउन ३ गते,
२०७७,सिन्धुपाल्चोक/

भोटेकोशी नदीको भीषण बाढीले बाह्रबिसेमा रहेको पक्की पुलमा क्षति पुगेको छ । बाह्रबिसे नगरपालिका ४ र ९ बीच रहेको तातोपानी र काठमाडौँ जोड्ने सो पुलमा बाढीले क्षति पुगेपछि जोखिम बढेको छ ।
दैनिक हजारौ सङ्ख्यामा यातायातका साधान चल्ने सो पक्की पुलको जीपमा बाढीले ठूलो क्षति पुराएको छ । पुलको जग र जगको आसपासका जमिन बाढीले खोतल्न थालेको छ । बाढीले पुलमा क्षति पुर्याउँदा तीनवटा घर तानेको छ ।
अन्य घरहरू जोखिममा परेका छन् । स्थानीय शिवहरि श्रेष्ठका अनुसार अविरल वर्षा भइरहँदा भोटेकोशी नदीमा भीषण बाढी आइरहेकोले पुल ढाल्ने खतरा बढेको बताउनुभयो । बाढीका कारण पुल र नदी आसपासमा रहेका घर र बस्ती उच्च जोखिममा परेको श्रेष्ठले चिन्ता प्रकट गर्नुभयो ।

भीषण बाढीले पुल नै बगाउने चिन्ता छ भने बाह्रबिसे बजार, राम्चेबजार अति खतरामा रहेको स्थानीय नवीन श्रेष्ठ बताउनुहुन्छ । उक्त पक्की पुल र बजारबस्ती जोगाउन तत्काल नै रोकथामका काम नगरे ठूलो क्षति हुने सम्भावना रहेको पनि नवीनले बताउनुभएको छ ।
उक्त पुल असार २५ गते जम्बुमा बाढी र पहिरो आउँदा क्षति पुगेको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले पनि चीनको तिब्बतदेखि नै आएको बाढीले पुल बगाउने खतरा बढेको उहाँले चिन्ता गर्नुभयो । पुल र बजार संरक्षणमा सबै सरोकारवाला पक्ष तत्कालदेखि नै नलागे ठूलो दुर्घटना निम्तिने अवस्था आएको श्रेष्ठको भनाइ छ ।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख विजयकुमार महत्तोले उक्त पुलको अवस्था अनुगमन गरी पुल र बस्ती जोगाउन लाग्ने जानकारी दिनुभएको छ । पुलसँगै हजार हाराहारीका सङ्ख्यामा घर र अन्य भौतिक संरचना रहेको छ । पुलको तल्लो तटीय क्षेत्रमा लामोसाँघु बजार, खाडीचौर बजार, बलेफी, कोठे, सुकुटे लगायतका स्थानमा बस्ती रहेको छ । पुल क्षति भएमा तल्लो तटीय क्षेत्रका बस्ती पनि बगाउने जोखिम रहेको छ । -गोरखापत्रबाट

Facebook Comments