रोशी सहकर्मी–साउन ९,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको कुनै पनि स्थानीय तहमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आइसोलेसन नरहेको बताईएको छ । जिल्लाको दशवटा स्थानीय तहले कम्तीमा दश बेडको आइसोलेसन वार्ड बनाउने भनेर निर्णय गरे पनि पालिकाहरूले निर्णय कार्यान्वयन गरेका छैनन् ।

कोरोना भाइरस (कोभिड– १९) रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमान्ड पोस्टको बुधबार बसेको बैठकले यसअघि गरेको निर्णयलाई तत्काल पूर्णता दिन पालिकाहरूलाई ध्यानाकर्षण गराएको स्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला कमान्ड पोस्टका सदस्यसचिव डाक्टर नरेन्द्रकुमार झाले बताए । पाँचखाल नगरपालिकाले सात बेड आइसोलेसन वार्ड बनाएको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी जिल्लास्तरीय कमान्ड पोस्टको टोलीले गरेको अनुगमनको क्रममा यसअघि जिल्लाको धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र रोशी, तेमाल, भुम्लु र बेथानचोक गाउँपालिकाले निर्णय गरेअनुसार आइसोलेसन वार्ड तयार नगरेको पाइएको भन्दै शीघ्र तयारी गर्न आग्रह गर्ने निर्णय गरेको झाले बताए ।
बनेपाको शिर मेमोरियल अस्पतालमा पाँच बेडको मात्रै आइसोलेसन वार्ड बनाएको पाइएको छ । धुलिखेल अस्पतालमा पनि १५ बेडको आइसोलेसन वार्ड बनाएको भनिए पनि भनेअनुसारको नभएको भन्दै त्यसलाई पूर्णता दिन आग्रह गरेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले जानकारी दिए । –नयाँपत्रिकाबाट

Facebook Comments