रोशी सहकर्मी–साउन १०,
२०७७,सिन्धुली/

झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सिन्धुली जिल्लामा पनि सञ्चालनमा आएका छन् । शुक्रबार देखि आवश्यक सावधानी अपनाएर सवारी संचालन गरीएको सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान बलले जानकारी दिए ।

सरकारले जिल्ला भित्र मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि सिन्धुली जिल्लामा शुक्रबारदेखि त्यस्ता सबारी साधन सञ्चालनमा आएको हो । शुक्रबार सदरमुकाम सिन्धुलीमाढीदेखि मरिण र दुधौलीसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा आएको अध्यक्ष बलले जानकारी दिए ।

यसैगरी आज देखि सिन्धुली माढीबाट घुर्मि, नेपालथोक, चकमके र घ्याङलेखसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए । माक्स लगाएर आएका यात्रुलाई मात्र बसमा चढाउने गरेको बताउँदै माक्स नलगाई आएका यात्रुलाई किन्न लगाउने बताए ।

सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बीमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बीमांक रकम उपलब्ध गराउने सहमति भएको थियो । त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो । त्यस्तै, श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ ।

अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने व्यवसायिहरुले जनाएका छन् । व्यवसायिहरुका अनुसार अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको छन् । मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउने व्यवसायिहरुले बताएका छन् ।

Facebook Comments