रोशी सहकर्मी–कार्तिक २३,
बनेपा/

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले छिमेकी मुलुक भारतले सिमाना मिचिएको बिषय छलफल गरेर टुंग्याउने बताउनुभएको छ । शनिबार काभ्रेको बनेपा नगरपालिका ४ स्थित नालामा वडा कार्यालय भवन तथा महादेवखोला पुल सिलान्यास एवं श्री चण्डेश्वरी माविको विद्यालय भवन उद्घाटन समारोहमा यस्तो बताउनुभएको हो । उँहाले हाम्रा छिमेकीले एकतर्फी नक्सा जारी गरेको सिमाना मिचेको छ, त्यो हामी कदापी स्वीकार्न सक्दैनौँ, भन्नुभयो । उहाँले यसलाई सरकारले छलफलको माध्यमबाट टुङ्ग्याउने बताउनुभयो । उँहाले कार्यक्रममा सम्बोधन गर्नुहुँदै भन्नुभयो सत्यको अगाडी झुटहरु टिक्दैन, न्यायको अगाडी बलहरु टिक्दैन, सत्य र न्यायको सँधै जित हुन्छ । मुलुकको सार्वभौमसत्ता सबै मुलुकको उत्तिकै प्रिय हुन्छ, हाम्रो हक हाम्रो अधिकार हाम्रो सिमा एैतिहाँसिक प्रमाण र दसीका आधारमा स्थापित गरेरै छोड्छौँ ।
हामी दृढतापूर्वक नेपाल राष्ट्रको स्वाभिमान संसारसामु नझुकाई राख्न दृढ छौँ । मन्त्री बाँस्कोटाले भन्नुभयो नेपाल राष्ट्र र देशभक्त नेपालीको साथ र सहयोगमा ति काम गर्नेछौँ । मन्त्री बाँस्कोटाले सरकारले अहिले योजनाबद्ध कामहरु गरिरहेको बताउँदै कामका नतिजाहरु क्रमशः देखिँदै जानेछन् भन्नुभयो । हामीले जे सोचेका छौँ त्यो काम गर्न अझै केही समय लाग्नेछ । योजनाबद्ध कामहरु थालनी गरेका छौँ । बाटो मात्रै विकास होइन हामी खानेपानी पनि को पनि काम गरिरहेका छौँ, पर्यटन को काम गरिरहेको बताउनुभयो ।
उँहाले विद्यालयमा व्यवहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता रहेकोमा जोड दिनुहँदै असल नागरिक जन्माउन शिक्षा नै पहिलो अपरिहार्य कुरा हो भन्नुभयो । त्यसैले यस्ता धेरै क्षेत्रमा काम गर्नुछ । विकासका धेरै पाटाहरु छन् । जसतर्फ हामी निरन्तर प्रयास गर्दै जानेछौँ । हाम्रो क्षमताले भ्याए सम्म कामहरु गछौँ । हरेक क्षेत्रमा सिङ्गै समाजलाई जोड्ने कुरा हुन्छ । यि सबै कुरा हामी गर्दैछौ र यो एउटा फ्रेमवर्क भित्र छ र त्यो फ्रेमवर्कको नाम सुखी नेपाली समृद्ध नेपाल हो । हामीले हाम्रो पुस्ताको लागि नभई भावी पुस्ताहरुका लागि सुख र समृद्धका लागि काम गरिरहेका छौँ । त्यसका लागि हाम्रो पुस्ताले योगदान गर्नुपर्छ, भन्नेमा जोड दिनुभयो ।

Facebook Comments