रोशी सहकर्मी–कार्तिक २४,
काभ्रे/

काभे्रमा जिल्लाको मुख्य सहर तथा आसपासका क्षेत्रमा खेतीयोग्य जमिन टुक्राउँदै बस्ती नै निर्माण हुन थालेपछि कृषि उत्पादनमा ह्रास आउने भएको छ । कृषि उत्पादनका रुपमा अग्रणी रहेको काभ्रेमा पछिल्लो केही वर्ष यता उब्जाउ हुने फाँटहरुमा अव्यवस्थित रुपमा बस्ती नै बस्न थालेपछि उब्जाउ हुने भूमिमा संकट आउँने देखिन्छ ।
राजधानी काठमाडौबाट नजिक रहेको पर्यटकीय एवं कृषि उत्पादनको मुख्य जिल्लाका रुपमा रहेको काभ्रे जिल्लामा भूकम्प पछि नयाँ बस्ती निर्माणको नाममा खेतीयोग्य जमिन टुक्राउने क्रम बढेसंगै उर्वर भूमी मासीन थालेका छन् । जिल्लाको कृषि उत्पादनको हवका रुपमा रहेका धुलिखेल, बनेपा, पनौती, पाचखाल, भकुण्डे, कुन्ता, कुशादेवी, खोपासी लगायतका स्थानमा अव्यवस्थित रुपमा खेती योग्य जमिनको घर घडेरीमा प्रयोग हुन थालेको देखिन्छ । भूकम्पले घर भत्कीएसंगै घर घडेरीका नाममा विना योजना प्लटिङ्ग गर्ने र बस्ती विस्तार गर्ने क्रम बढेसंगै खेतीयोग्य जमिन मासिन थालेका हो ।
नयाँ संरचना बनाउँदा शहर बजार र उत्पादनशिल जमिनमा घर घडेरी किनबेच बढेपछि खेतीयोग्य जमिन मनोमानी रुपमा नै मासिन थालेपछि कृषि उत्पादनमा गिरावट आउने देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल १ लाख ४० हजार ४ सय ८६ हेक्टर क्षेत्रफल मध्य ४४ हजार २ सय १९ हेक्टर जमिन खेतीयोग्य भूमी रहेको छ । जसमध्ये जिल्लाका ७० प्रतिशत जनजंख्या कृषिमा निर्भर हुदै आएका छन् । बढ्दो जनसंख्या र शहरीकरणले मापदण्ड विपरीत उर्वर फाँटहरुमा अव्यवस्थि बस्तीको बिकास हुन थालेको हो ।

Facebook Comments Box