रोशी सहकर्मी–भदौ १०,
२०७७,भकुण्डे/

नमोबुद्ध नगरपालिका काभ्रेका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीका लागि आर्थिक सहयोग गर्दै आफ्नो जन्मदिन मनाउनुभएको छ । तिमल्सिनाले आफ्नो जन्मदिनको अबसरमा आज बुधबार १ लाख २ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । जसमध्ये उहाँले यसअघि नमोबुद्ध १० की १० बर्षीया सविना लामाका लागि यो बर्ष लाग्ने पढाई खर्चवापतको ७ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

तिमल्सिनाले लामाको सबै तहको शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नुभएको थियो । यसैगरी नमोबुद्ध ४ मा रहेको जनक माविबाट अघिल्लो बर्षको एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका नमोबुद्ध २ का दिपेश गौतम र नमोबुद्ध ४ का शिवराज चिमौरियालाई यस बर्षको शैक्षिक खर्चवापतको ६५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।

यस्तै वडा नंवर १० का सुशील गौतमलाई शैक्षिक शुल्कवापतको ३० हजार रुपैयाँ बुधबार नै प्रदान गरिएको छ । आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको नगरप्रमुख तिमल्सिनाले बताउनुभयो ।

नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधावापतको रकमलाई सामाजिक क्षेत्रमा खर्च गर्नुभएका नगरप्रमुख तिमल्सिनाले आफ्नो जन्मदिनकै अवसरमा नमोबुद्ध नगरपालिका ४ मा रहेको दलित सामूदायिक भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको छ ।

यस्तै यसअघि प्रतिवद्धता जनाएअनुसार नमोबुद्ध ५ कानपुरमा जिर्णोद्धार भइरहेको रक्तकाली मन्दिरको गजुर स्थापनाका लागि २३ हजार १ सय ११ रुपैयाँ जन्मदिनकै अवसरमा नगर प्रमुख तिमल्सिनाले प्रदान गर्नुभएको छ ।

Facebook Comments Box