रोशी सहकर्मी–भदौ २८,
२०७७,काभ्रे/

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सिन्धुपाल्चोकमा जोखिममा रहेका वस्तीहरू सुरक्षित स्थानमा सार्न सरकारसँग माग गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं.७ का तीन स्थान- नागफुजे, भीरखर्क र नेवार टोलमा पहिरो जाँदा मृत्यु भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै आज जारी गर्नुभएको शोक वक्तव्यमा जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न माग गर्नुभएको हो ।

प्राकृतिक विपतको यस घडीमा वेपत्ताहरूको तीव्रताका साथ खोजी गर्न, घाइतेहरूलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामाग्रीहरु-खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न पनि सभापति देउवाले सरकारसँग आग्रह गर्नुभएको छ ।

‘सिन्धुपाल्चोकमा पछिल्लो समय पटक–पटक पहिरोले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भू–गर्भविद्हरूले औंल्याएका जोखिमका वस्तिहरूका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब सार्न प्रधानमन्त्रीकेपी शर्मा ओलीजीको ध्यानाकर्षण गराउँदछु’ सभापति देउवाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

Facebook Comments