यश कुमार परियार–भदौ २९,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा थप एक महिलाको कोरोनाबाट मृत्यु भएको छ । गत २५ गते बिहिबार बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी भुम्लु गाउँपालिका वडा नं ८ निवासी ७० वर्षिय महिलामा हिजो (आईतबार) राती कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

संक्रमित महिलाको मृत्युको विवरण भने अस्पतालले सार्वजनिक नगरेको भएपनि स्वास्थ्य कार्यलय काभ्रेले आज सार्वजनिक गरेको हो ।

विरामी भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत ती महिलाको २५ गते निधन हुने वित्तिकै कोरोना संक्रमणको रिपोर्ट नआई अस्पतालले जर्वजस्ती मृतकका आफन्तलाई शव बुझाएको थियो । आफन्तले मृतक महिलालाई भुम्लु ८ मा रहेको डुम्रेघाटमा जलाएका थिए । महिलाको दाहसंस्कारमा गाउँका झण्डै ५०/६० जना सहभागि भएको मृतकका आफन्तले बताएका छन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक, एक जनाको मृत्यु भएको छ । आज साँझ सम्म बनेपा नगरपालिकाका १ जना महिला र चौरीदेउराली गाउँपालिकाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमितको संख्या ३९२ पुगेको छ । संक्रमित मध्ये २ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

Facebook Comments