मंसिर ८,
२०७७,काभ्रे/

जिल्लाका पाँच स्थानीय तहमा १५ देखी १० शैयाको अस्पताल निर्माणका लागि नेपाल सरकारले बजेट विनियोजन गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल नगरपालिकामा १५ शैया, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, भुम्लु गाउँपालिका र रोसी गाउँपालिकामा १०÷१० शैयाको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेको हो । नेपाल सरकारले एक स्थानीय तह एक अस्पतालको नीति अनुरुप पाँच पालिका छनौट भएका हुन ।

धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकी, खानीखोला गाउँपालिकाको तालढुङ्गा स्वास्थ्य चौकी, महाभारत गाउँपालिकाको घर्तीछाप स्वास्थ्य चौकी, भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकी र रोशी गाउँपालिकाको खहरेपाँगु स्वास्थ्य चौकी स्तरोन्नति हुने भएका छन । मन्त्रालयले पाँच पालिकालाई अस्पताल निर्माणका लागि पहिलो चरणका लागि ८५ लाख रुपियाँ बजेट पालिकामा पठाएको छ ।

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जूले काभ्रे स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निर्माण हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार र नगरपालिकाको लगानीमा उक्त अस्पताल निर्माण हुन लागेको हो । उक्त अस्पतालका लागि १८ करोड बजेट विनियोजन भएको व्याञ्जूले जानकारी दिनुभयो ।

त्यस्तै खानीखोला, महाभारत, भुम्लु र रोशी गाउँपालिकामा निर्माण हुने १० शैयाको अस्पतालका लागि १० करोड बजेट मन्त्रालयले विनियोजन गरेको छ । यस अघि नै जिल्लाको चौँरी देउराली गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण भइरहेको छ ।

Facebook Comments