पुस १४,
२०७७,काभ्रे/

नेकपाको विवाद केन्द्र हुँदै जिल्ला कमिटीमा आइपुगेको छ । नेकपाका जिल्ला कमिटीको बहुमत सदस्यले नेकपा जिल्ला अध्यक्ष रुकु चौँलागाई र सचिव टोकबहादुर तामाङलाई पदमुक्त गरेसँगै नेकपाको विवाद जिल्ला तह सम्म आइपुगेको हो ।

आज नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले पार्टी अध्यक्ष चौँलागाई र तामाङलाई प्रचण्ड–नेपाल समूहमा लागेको भन्दै पदमुक्त गरेको हो । केपी ओली समूहले काभ्रे जिल्ला अध्यक्षमा केन्द्रीय सदस्य अशोक व्याञ्जूलाई अध्यक्ष र अर्का केन्द्रीय सदस्य नारायण पाण्डेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्य र जिल्लाका बहुमत सदस्यको उपस्थितीमा मंगलबार उक्त निर्णय भएको बनेपामा पत्रकार सम्मेलन मार्फत ओली समूहले जानकारी दिएको छ । पार्टी एकता भएको करिब अढाई बर्षको अवधिसम्म पनि एउटा पनि बैठक नराखेको, पार्टीमा गुटगत गतिविधि सञ्चालन गरेको, संगठनात्मक पद्धती बिरोधी गतिविधीमा सग्लन रहेका कारण जिल्ला पार्टी अध्यक्ष चौँलागाई र तामाङलाई कारवाही गरिएको बैठकबाट निर्णय गरेको बैठकमा केपी समूहका जिल्ला अध्यक्ष व्याञ्जूले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्षमा चयन हुनुभएका व्याञ्जूले १२६ जिल्ला कमिटीमा बहुमत ६४ सदस्यको उपस्थिती रहेको जानकारी दिए । उनका अनुसार दुई जना जिल्ला सदस्यको मृत्यु भएको छ ।

बैठकले पार्टी एकताको भावना र बिधान विपरित गुटबन्दी गरि बहुमत अल्पमतको आधारमा आफ्नै पार्टीको नेतृत्वको निर्वाचित बहुमत सरकार ढाल्न पार्टीभित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रति खेद व्यक्त गरेको छ । उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशमा जाने कदमको स्वागत गर्ने निर्णय गरेको व्याञ्जूले जानकारी दिए ।
बैठकले काभ्रेबाट केन्द्रीय सदस्य हुनेहरुमा अशोक कुमार व्याञ्जु, रामहरि सुवेदी, चन्द्र लामा, उद्धव केसी, भीम न्यौपाने, नवीना लामा, नारायण पाण्डे, डा. अम्वु भवानी कार्की, रीता ढकाल ‘ धरिना’, रुक्मणि थापा ‘अस्मिता’, कुमार खकुरेल, कुमार थापा, रेशम लामा र प्रकाश गौतमलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना दिएको छ ।

Facebook Comments Box