पुस २५,
२०७७,बनेपा/

नेकपाका स्थायी कमिटी सदस्य एवम् खानेपानी मन्त्री मणि थापाले देश चुनावमा प्रदेश गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई बनेपामा सम्बोधन गर्नुहुँदै मन्त्री थापाले देशलाई अस्थिरताबाट बचाउन प्रधानमन्त्री ओलीले चुनावमा जाने निर्णय गरेको दाबी गर्नुभयो ।

उहाँले प्रचण्डले सरकारविरुद्ध कु गर्न खोजेपछि प्रधानमन्त्री बाध्य भएर नयाँ जनादेशमा जान बाध्य भएको बताउनुभयो । ‘हामीले यसलाई प्रधानमन्त्री ओलीको बाध्यात्मक कदमको रुपमा लिनुपर्छ’ ।

कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अदालतमा बिचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि दबाबमूलक विज्ञप्ति जारी गर्ने पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टीमा लाग्न सुझाव दिनुभयो । बास्कोटाले चार पूर्व प्रधानन्यायाधीशलाई प्रचण्डको पार्टीको सदस्य बनेर चुनाव लड्न चुनौति दिनुभयो । ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए दाहाल–नेपाल समूहको अलोकतान्त्रिक कित्ताको सदस्य भएर चुनाव लड्न आउँदा हुन्छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको बेला भूतपूर्वहरुले सडकबाट फैसला सुनाउने होइन । अहिलेसम्म उनीहरुले कस्ता फैसला गरेका रहेछन्’ ? सर्वोच्चमा विचराधीन मुद्दाको फैसला सर्वोच्चले सुनाउने भएकाले सडकबाट फैसला नसुनाउन पनि उहाँले चेतावनी दिनुभयो । ‘भूतपूर्वहरुले फैसला गर्ने हैन वर्तमानले गर्ने हो,’ उनले भने, ‘अहिलेसम्मको विधि त त्यही होला नि श्रीमानहरु ।’

सर्वोच्च अदालतका चार पूर्वन्यायाधीशहरु मीनबहादुर रायामाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले हिजो प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

काभ्रेमा नेकपाको मूलधार आफूहरुनै रहेको भन्दै बास्कोटाले चारवटा आलु कुहिएर झरे पनि काभ्रेमा उनीहरुले आफूहरुलाई पराजित गर्न पुग्ने मत समेत ल्याउन नसक्ने बताउनुभयो । बास्कोटाले सो क्षेत्रमा प्रचण्ड माधव नेपाल पक्षले साँढे ८ हजारसम्म मत ल्याउन सक्ने आँकलन गर्नुभयो ।

सोहो अवसरका नेकपा केन्द्रीय कमिटी सदस्य एवम् काभ्रेका अध्यक्ष अशोककुमार ब्याञ्जूले जिल्लाको १० औँ महाधिवेशनका लागि ६९९ जिल्ला कमिटी गठन गरिएको बताउनुभयो । उहाँले पार्टीलाई चलायमान गराउन दुई महिने अभियान गाउँगाउँमा जाने बताउनुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश कमिटीका सचिव आन्नद पोखरेल, केन्द्रीय सदस्यहरु रामहरि सुवेदी, चन्द्र लामा, रेशम लामा, प्रकाश गौतम र बागमती प्रदेश सभा सदस्य गोमा भुर्तेल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन पार्टीका सचिव नारायण पाण्डेले गर्नुभएको थियो ।

Facebook Comments Box