
माघ २,
२०७७,काभ्रे/
रोशी गाउँपालिकाका शिक्षक विद्यार्थीहरुलाई मनोसामाजिक परामर्श दिईएको छ । रोशी गाउँपालिकाको आयोजनामा सुरु भएको कार्यक्रमको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले कोरोना भाइरसको महामारी पश्चात् विद्यालय क्षेत्र प्रभावित भएको र विद्यालहरुमा शैक्षिक कार्यक्रम सरल, सहज र व्यवस्थित ढंगले सञ्चालन गर्न प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीका लागि मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
उद्घाटन शत्रको अवसरमा बोल्दै शिक्षा, युवा तथा खेलकुद शाखाको प्रमुख राम तामाङले कोरोना महामारीको समयमा शैक्षिक कार्यक्रमलाई वैकल्पिक माध्यम (रेडियो शिक्षा) मार्फत सञ्चालन भएको र हाल विद्यालय सञ्चालन भइरहँदा उक्त महामारीको कारण प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको त्रासको वातावरण न्यूनिकरण गर्दै गुणस्तरीय शिक्षा अभिवृद्धि तर्फ उन्मुख गराउन मनौवैज्ञानिक, शारीरिक तथा मानसिक तवरले स्वस्थ रहनको निम्ति कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा रोशीको वडा नं १ देखि ६ सम्म र वडा न. ८ को प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरु गरी जम्मा ४१ जना सहभागी रहेको थियो । कार्यक्रमको सहजीकरण भने मनोविद् तथा साइकोथेरापिष्ट मधुविलास खनालले गरेको शिक्षा शाखाका भिम भट्टराईले जानकारी दिनुभयो ।