काभ्रे,
बाढीले घर बगाउँदा रुकुमको आठबिसकोटमा ३ जना बालिकाको मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको हो । बाढीमा परेर एक जना बेपत्ता भएका छन् । वडा नम्बर १२ को बगरा तातापानीमा गएराति साढे ११ बजेतिर आएको बाढीले घर बगाउँदा ५ वर्षीया मनीषा सार्की, ८ वर्षीया धनिषा पुन र १० वर्षीय हितमाया पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । ३८ वर्षका डिल्ली बुढाथोकी बेपत्ता हुनुभएको छ । बेपत्ता बुढाथोकीको खोजी भइरहेको छ । घटनामा परी ७ जना घाइते भएका छन् ।
तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले खोला छेउमा रहेका घर बगाएको नगर प्रमुख रवि केसीले जनकारी दिनुभयो । बाढीले भूकम्प प्रभावितका टहरा बगाएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयबासिन्दाको टोली खटिएको छ ।