फागुन २६,
२०७७,काभ्रे/

दोस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लामा आज ६५ वर्षमाथिका २६ सय ९४ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएमन छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार १३ सय ३३ महिला र १३ सय ६१ जना पुरुषलाई कोरोना विरुद्धको खोप लगाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाका १३ स्थानिय तहमा गरि आज २६ सय ९४ जना बृद्ध–बृद्धा नागरिकले खोप लगाएका छन् । जसमध्ये काभ्रेको बनेपा नगरपालिकामा ४ सय ४०, धुलिखेल नगरपालिकामा २ सय ९०, पनौती नगरपालिकामा ३ सय, पाँचखाल नगरपालिकामा २ सय ४०, नमोबुद्ध नगरपालिकामा १ सय ९ र मण्डनदेउपुर नगरपालिकामा ३ सय ८८ जनाले खोप लगाएका छन् ।

यस्तै रोशी गाउँपालिकामा ५०, बेथानचोक गाउँपालिकामा १ सय ८, भुम्लु गाउँपालिकामा १ सय, तेमाल गाउँपालिकामा १ सय २०, महाभारत गाउँपलिकामा ८९, चौरीदेउराली गाउँपालिकामा ४ सय १० र खानीखोला गाउँपालिकामा ५० जनाले खोप लगाएका छन् । त्यस्तै काभ्रेमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थपिएका नयाँ संक्रमित पनौती र धुलिखेल नगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ६७ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जनाकारी दिए । उनका अनुसार काभ्रेमा अहिले १७ जना सक्रिय संक्रमित रहेका छन् ।

Facebook Comments Box