चैत्र १२,
२०७७,काभ्रे/

पाँचखाल क्षेत्रमा पुरातात्विक सम्पदा स्थलबारे जिओफिजिकल (भू–भौतिक सर्वेक्षण) सर्भे सुरु भएको छ । पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीले आजबाट सर्भे सुरु गरेको हो ।

विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पाँचखालमा उत्खननका क्रममा लिच्छिविकालीन र मध्यकालीन इतिहासका महत्वपूर्ण प्रमाणहरु भेटिएकाले थप तथ्य पत्ता लगााउन सर्भे थालिएको हो । विभागले पाँचखालमा नगरपालिका–७ सिमाली र आसपासका क्षेत्रमा सर्भे थालेको छ । २०७६ जेठमा विभागले उत्खननका क्रममा उत्खननका दरबारको भग्नावशेष र माटाका पाइपलाइन फेला पारेको थियो। उत्खननपछि विभागले लिच्छिविकालीन र मध्यकालीन इतिहासको प्रमाण फेला परेको प्रतिवेदन तयार गरेको थियो ।

पाँचखाल क्षेत्रमा लिच्छविकालीन इतिहासको शिलालेख र प्रमाण भेटिएका छन्। त्यस्तै पलाञ्चोक उपत्यकामा विसं १४६२ मा शक्तिसिँहराम बद्धनले शक्तिशाली राज्य सञ्चालन गरेको इतिहास छ । पुरातत्व अधिकृत विष्णु पाठकको नेतृत्वमा ४ जनाको टोलीबाट सर्भे भइरहेको छ। विभागका अनुसार आज र भोलि पाँचखालका विभिन्न श्रेत्रमा सर्भे हुनेछ ।

Facebook Comments Box