चैत्र २०,
२०७७,काभ्रे/

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी दुर्घटना न्यूनिकरणका लागि समय समयमा बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

यस पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अभियान स्वरुप लागू पदार्थ सेवन गर्ने सवारी चालकको चेकजाँचमा कडाई गरेको छ । विशेष गरेर रातीको समयमा लागू पदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला ट्राफिक कार्यालय काभ्रेको संयोजनमा अभियान स्वरुप यस कार्यलाई अगाडी बढाइएको छ । बिहिबारबाट संचालित अभियान निरन्तर चलिरहने कार्यालयका प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङले बताए ।

चेकजाँचको क्रममा कार्यालयले लागू पदार्थ सेवन नगरी सवारी चलाउने असल सवारी चालकलाई खादा ओढाई सम्मान गरी ट्राफिक नियमको पालना गर्न प्रोत्सहान गरेको छ । ट्राफिक नियम उल्लंघन गरी मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी चलाउँदा हुने कानुनी कार्वाही बारेमा सवारी चालकलाई सचेत गराउन पनि यस कार्यक्रमको सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय मादक पदार्थका साथै लागू पदार्थ समेत सेवन गरी सवारी चलाएको पाइएकोले कार्यालयले चेकजाँच कडा पारिएको हो । लागू पदार्थ सेवन गरी सवारी चलाउनु नै सवारी दुर्घटनाको प्रमुख कारण भएकाले लागू पदार्थ सेवन चेकजाँच कार्यलाई तिब्रता दिएको प्रमुख तामाङले बताए ।

Facebook Comments Box