बैशाख १९,
२०७८,रामेछाप/

जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढदै गएपछि बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षमा बसेको जिल्ला स्तरीय कोभिड (१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले सदरमुकाम मन्थलीसहित विभिन्न बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

बैठकले भोली (सोमबार) राति १२ बजेदेखि वैशाख २७ गते सम्म लागु हुनेगरी विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बैठकले मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं. २ को करम्बोट बजार ,मन्थली नगरपालिका वडा नं.३ ठुलीमदौँ, वडा नं. ६ कुनौरी र सेलेघाट, वडा नं. ७ को मुगिटार, वडा नं. ८ को गाइखुरा क्षेत्रमा यही वैशाख २० गते सोमबार राति १२ः०० बजेदेखि २७ गते राति १२ः०० बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो । यसैगरी, बैठकले मन्थली नगरपालिका वडा नं. १३ को देवीटार र वडा नं. १४ को पोखरी बजार क्षेत्र र गोकुलगङ्गा गाउँपालिका वडा नं. १, ४ र ५ क्षेत्रमा पनि निषेधाज्ञा गर्ने बैठकले निणर्य गरेको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पूर्ण रुपमा रोक लगाइने छ । एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन हुन पाउने छन् ।

औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका , अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग भएका, निर्माण सामाग्री बोकेका , परिचयपत्र बोकेका , प्रेस पास तथा परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन हुन पाउने छन् । बिचमा चढाउने, ओराल्ने नगर्ने गरी राजमार्ग चल्ने लामो दुरीका सवारी साधन बाहेक निषेधाज्ञा गरिएको क्षेत्रमा आन्तरिक सार्वजनिक तथा निजी यातायातका साधनहरु पूर्ण रुपमा बन्द गर्ने बैठकले निणर्य गरेको छ । खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूणर् पालना गरी बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म र साँझा ५ः०० बजेदेखि ७ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

बैठकले बैङ्क तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूणर् रुपमा पालन गर्ने गरी न्यूनतम कर्मचारीबाट सेवा प्रवाहको व्यवस्था मिलाउने, अत्यावश्क कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट प्रेवश गर्ने जिल्लाभित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टीन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहितको सिफारिस भएकोलाई बाहेक जिल्ला प्रवेशमा रोक लगाउने निणर्य गरिएको छ ।

Facebook Comments Box