जेठ ५,
२०७८,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिकाले कोभिड–१९ को प्रभाव र संक्रमण पालिका भित्र बढ्दै गइरहेको सन्दर्भलाई मध्यनजर गर्दै यसको रोकथाम तथा उपचार कार्यमा धुलिखेल अस्पताल सँग सहकार्य गर्ने सहमती भएको छ ।

आज (बुधबार) बेथानचोक गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र धुलिखेल अस्पतालका डाक्टर रोशन कुमार महतोको उपस्थितिमा बसेको बैठकले गाउँपालिका र अस्पताल बिच समझदारी भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिएका छन् । भण्डारीका अनुसार हाल गाउँपालिकाको अस्थायी अस्पतालबाट मात्रै कोरोना संक्रमणका बिरामिहरुको उपचार भइराखेको र अन्य स्वास्थ समस्या भएका बिरामीको समेत चाप बढ्न सक्ने अवस्था आउन सक्ने भन्दै धुलिखेल अस्पताल सँग सहमति भएको बाताएका छन् ।

धुलिखेल अस्पतालले बेथानचोक गाउँपालिका–३ बोझाघारीमा रहेको ढुङ्गखर्क स्वास्थ केन्द्रमा रहेका डाक्टर सहितको जनशक्ति र उपलब्ध सेवा सुबिधा समेत उपयोग गरि कोरोना संक्रमण भएका बिरामीहरुको उपचार गर्ने, समुदायमा थप संक्रमण फैलिन नदिन एक आपसमा सहकार्य गरेर अगाडी बढ्दै कोरोना नियन्त्रणमा हातेमालो गरिने भण्डारीले बताएका छन् ।

हाल बेथानचोक अस्थायी अस्पतालमा १० बेडको ब्यवस्थापन रहेको र धुलिखेल अस्पतालद्वारा संचालित ढुङ्गखर्क स्वास्थ केन्द्रमा ५ बेडको सुबिधा उपलब्ध छ । अवस्था र आवश्यकताको आधारमा स्वास्थ सेवा उपलब्ध गराउने अस्पताल र गाउँपालिका बिच समझदारी भएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box