काभ्रे,
रोशी गाउँपालिका– ११ भिमखोरीमा अवस्थित पोक्रा माद्यामिक विद्यालयको नवनिर्मित भवनको पहिलो तल्ला उद्धाटन एवम् खेल मैदान र शौचालय हस्तान्तरण भएको छ । बिहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा उद्धाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । रोशी गाउँपालिका, ११ नम्बर वडा कार्यालय, बिकास बेल्जियम र सेन्ट चामोण्ड स्पेयर्सको साझेदारीमा भवन र खेल मैदान तथा शौचालय निर्माण भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले साझेदारी संस्थाहरूले गरेको सहयोगप्रति आभार ब्यक्त गर्नुभयो । शिक्षित व्यक्तिहरू भएको समाज विकसित हुने बताउनुहुदै गाउँपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । पछिल्लो समय बाढी र पहिरोले निम्त्याएको विपदको कारण बढी बजेट विपदमा लगानी भएको उहाँले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले शिक्षा र खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुहुदै गुणस्तरीय शिक्षाका लागि विद्यालय घटाउने र दरबन्दी बढाउने काम भईरहेको जानकारी दिनुभयो । केही दिन अघि मात्र रोशी मा.वि मा रोशी कप फुलकन्ट्याक्ट कराते सम्पन्न भएको र फेरि केही दिनपछि राष्ट्रपती रनिङ शिल्ड शुरु हुने बताउनुभयो ।
बिकास बेल्जियमकी अध्यक्ष बेट्टी माउरेक्सले भवन, खेलमैदान र शौचालय निर्माण सम्पन्न भएपछि अब गुणस्तरीय शिक्षा दिन शिक्षहरूलाई अनुरोध गर्नुहुर्दै विद्यार्थीहरूलाई पनि पढाईमा ध्यान दिन आग्रह गर्नुभयो ।
९३ लाख २८ हजार ५२० मा विद्यालयको पहिलो तल्ला र २० लाख ८२ हजार १५४ मा खेल मैदान र शौचालय निर्माण भएको विद्यालयका प्रधानाध्यापक उपेर सिङ थिङले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक र बिद्यार्थीहरूले मार्चपास, नृत्य, गीत, गजल लगायत प्रतिभाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिती महासंघका केन्द्रीय अध्यक्ष गुणराज मोक्तान, रोशी गाउँपालिका १२ नम्बर वडाका वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता वसन्त कुमार स्याङ्तान, ११ नम्बर का वडाध्यक्ष लाल कुमार पाख्रीन, नेपालको लागि बेल्जियमका वाणिज्य दुत आङछिरिङ शेर्पा, स्थानियहरु लगायतको सहभागिता रहेको थियो ।













