काभ्रे,
भक्तपुरबाट काभ्रेका ४ सहित १६ जना जुवाडे पक्राउ परेका छन् । दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे हिजो साँझ तीन लाख बढी नगदसहित पक्राउ परेका हुन् । प्रहरीको अनुसार पक्राउ पर्नेहरूमा नमोबुद्ध नगरपालिका ७ का ३६ वर्षीय गोपाल कुईकेल, नमोबुद्ध–७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल, पाँचखाल–३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई र काभ्रेको मण्डनदेउपुर–३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा सहित अन्य बिभिन्न जिल्लाका १६ जना रहेका छन् ।
मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित एक क्याफेबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले नेपाली २ लाख ४२ हजार ८५० र ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ । पक्राउ परेका १६ जनालाई परिसर भक्तपुरमै थुनामा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।