काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको पचास प्रतिशत खानेपानी दूषित भएको एक परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उँहाले बताउनुभएको छ ।
खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । ‘हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेरमात्रै पानी पिउनुपर्छ’, उँहाले भन्नुभयो । दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।