काभ्रे,
नेपालीहरूको महान चाड दसैँको पहिलो दिन आज घटस्थापना, घरघरमा जमरा राखिँदैछ । घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरेर टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यताका साथ गाउँघरमा रातो तथा कमेरो माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गर्ने परम्परा छ । टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले घटस्थापनाका लागि उत्तम समय बिहान ११ बजेर २९ मिनेट रहेको बताउनुभयो । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा सुरु भएको छ ।