काभ्रे,
धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको प्रहरीले बताएको छ । नेपाल–चीनको सिमानामा रहको ल्हेन्दे खोलामा आएको बाढीमा परी रसुवामा १८ जना बेपत्ता भएका थिए ।
नुवाकोटको विदुरमा त्रिशूली नदीको बाढीमा फसेका दुईजनाको सकुशल उद्धार गरिएको छ । बिहान त्रिवेणीघाटमा घाँसदाउरा गर्न गएका ६७ वर्षिय पाल्देन तामाङ र उहाँकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीमा एक्कासी बाढी आउँदा फसेका थिए । बाढी आएपछि रुख चढेर बसेका उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । हालसम्म बाढीमा फसेका नौ जनाको उद्धार गरिएको छ । अहिले पनि ३० देखि ३५ कामदार फसेको, तर उनीहरु सुरक्षित रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।