काभ्रे,
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले उच्च शिक्षा पढिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख छात्रवृत्ति कोषमार्फत पाँच जना एमबीबीएस (चिकित्सा) अध्ययनरत विद्यार्थीले ४० देखि ६० हजारसम्मको छात्रवृत्ति प्राप्त गरेका छन् । यसका साथै, ३६ जना विद्यार्थीलाई नर्सिङ, विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययनरत विद्यार्थीहरू पनि यसबाट लाभान्वित भएका छन् । विभिन्न विषयमा अध्ययनरत विद्यार्थीहरूले न्यूनतम १० हजारदेखि अधिकतम ६० हजारसम्म छात्रवृत्ति प्राप्त गरेका छन् । नगर शिक्षा ऐनमा समावेश मापदण्डका आधारमा छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले शिक्षाको गुणस्तर सुधार गर्न र विद्यार्थी तथा अभिभावकमा सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । आवेदन परेकामध्ये वडा र सम्बन्धित शैक्षिक संस्थाको सिफारिसको आधारमा गरिब, विपन्न, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीहरूको सर्टलिस्टिङ गरी छात्रवृत्ति प्रदान गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको बैंक खातामा सिधै दाखिला गरिनेछ । नगरपालिकाले यस वर्ष छात्रवृत्तिका लागि कुल ६ लाख पाँच हजार खर्च गरेको छ ।