काभ्रे,
प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गर्नुभएको तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे शितल निवास परिसरमा टेन्टमुनि हुनेछ ।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गर्नुभएको हो । उहाँले अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गर्नुभएको हो । ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहनुभएको थियो । यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार रहनुभएको थियो । अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन्।
तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि भेला भएर प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।