काभ्रे,
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँद्वारा रोशी खोलाको बाढीले बगाएको थान्सिङ मोटोरेवल पुलको अवलोकन गर्नुभएको छ । बिहिबार मन्त्री र सांसदहरूका साथ पुल अवलोकनका लागि रोशीमा पुगेका मुख्यमन्त्री बानियाँले पुल पुनः निर्माणको लागि आवश्यक छलफल गर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँसग बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादे, युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, बागमती प्रदेशसभा सदस्यहरू सुना परियार, मिनकृष्ण महर्जन, दिपेन्द्र श्रेष्ठ लगायत रोशी पुगेका थिए ।
मुख्यमन्त्री बानियाँ समक्ष रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले रोशी खोलामा आएको बाढीले बगाएको थान्सिङ मोटोरेवल पुल, निर्माण अन्तिम चरणमा पुगेको नगर अस्पताल, औधोगिक ग्रामको प्रशासनिक भवन र डम्फु जीवन्त संग्रहालयको पुनर्निर्माणको लागि माग गर्नुभएको छ ।
त्यसरी नै नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले मोटरेवल पुल तत्काल निर्माणको लागि अनुरोध गर्नुभएको छ।
मिति २०८१ असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल बर्षापछि आएको रोशी खोलाको बाढीले काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध–६ र रोशी –७ जोड्ने थान्सिङबेशीको मोटरेवल पुल बगाएको थियो । उक्त पुल पार गरेर रोशी गाउँपालिकाको माख्लो भेग वडा न १,२,३,४,५ र ६ मात्र नभएर महाभारत गाउँपालिका हुँदै बागमती प्रदेश राजधानी मकवानपुरलाई जोड्नेछ ।











