काभ्रे,रेडियो रोशी,
नमोबुद्ध नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा नगरप्रमुख कुनसाङ लामाको अध्यक्षता १६ दिने अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा बरिष्ठ मानव अधिकारकर्मी भोजराज तिमिल्सिना र ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्कीले लैङ्गिक हिंसाको अवस्था र यसलाई रोकथाम सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने अभियानको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रममा बोल्नुहुदै प्रमुख आतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सर्बप्रथम जुनसुकै प्रकारका हिंसा भएपनि यो दन्डनिय रहेको हुँदा हिंसा नगर्न र हिंसामा परे सहेर नबस्न आग्रह गर्नुभयो । यसका लागि सबैजना सचेत रहन आग्रह गर्नुहुदै यो अभियानको १६ दिन मात्र नभई बर्षभरी नै आवस्यकता पर्ने बताउनुभयो । समाज र परिवारमा हुने सबै हिंसाका घटनाहरु लाज र डरका कारण उजागर हुन नसकेको उहाँको भनाई छ । महिलामात्र नभई पुरुस पनि लैङ्गिक हिंसामा पर्ने गरेको बताउनुहुदै सहेर नबस्न आग्रह गर्नुभयो । पछिल्लो समय प्रविधिको दुरुपयोग गरेर अश्लिल म्यासेज, चरित्रहत्या र मानहानी गराउने कार्य पनि हिंसानै हुने हुँदा प्रविधिको सही प्रयोग गर्न आग्रह गर्नुभयो ।
नगर प्रमुख कुन्साङ लामाले सम्पुर्ण नागरीकहरु सचेत भएमा हिंसा आफै न्युनिकरण हुने बताउनुभयो । नगरपालिकाले लैङ्गिक हिंसा विरुद्ध हरेक बर्ष बिभिन्न सचेतनात्मक कार्यक्रम गदैआएको बताउनुभयो । हिंसा अन्त्यका लागि यो १६ दिन मात्र नभई हरेक दिन नगरपालिका लागिपरेको बताउहुदै डर र त्रासको कारण हिंसा सहेर नबस्न अनुरोध गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका उपप्रमुख रत्न लामाले नगरपालिकामा लैङ्गिक हिंसा हुन नदिन तथा यसलाई निर्मुल पार्न सधै तत्परताको साथ लागिपरेको बताउनुभयो । समाजमा हुनेगरेका र भएका लैङ्गिक हिंसाको बिषयलाई पहिचान गरी त्यसलाई रोकेर निर्मुल पार्न सबैजना एकजुट हुनुपर्ने धारण राख्नुभयो।
आजबाट सुरु भएको १६ दिने अभियान अन्तर्गत पालिका भित्रका प्रत्येक वडाहरुमा लैङ्गिक हिंसा विरुद्ध सचेतना र अभिमुखिकरण कार्यक्रम गरिने छ । भोलि १० गते वडा नं. ३, ११ गते वडा नं.४, १२ गते वडा नं.५, १४ गते वडा नं.८, १५ गते वडा नं.७, १६ गते वडा नं.१० मा अभिमुखिकरण कार्यक्रम गरिने छ । त्यसैगरी १९ गते वडा नं.११, २१ गते वडा नं.२, २२ गते वडा नं.६, २३ गते वडा नं.१ र २४ गते वडा नं.९ मा लैङ्गिक हिंसा विरुद्ध सचेतना र अभिमुखिकरण कार्यक्रम गरिने छ ।
कार्यक्रममा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत दिल भक्त जयना, बिभिन्न वडाका वडा अध्यक्षहरु, काभ्रेपाञ्चोक जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्री कोमल शाह, ईलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक इश्वर कार्की, शसस्त्र प्रहरी निरिक्षक आलोक बस्नेत, भकुण्डेबेशी प्रहरी चौकीका प्रमुख गोपाल खड्का, नमोबुद्ध नगर स्तरीय महिला सहकारी संस्थाका अध्यक्ष एव सदस्यहरु, कार्यपालिका सदस्यहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको कार्यक्रम नगरपालिकाको महिला बालवालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले सञ्चालन गर्नुभएको थियो ।











