काभ्रे,
काठमाण्डौसहित देशका धेरै ठाउँमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू सिलिन्डर लिएर पसल धाइरहेका छन् तर दुई हप्ताभन्दा बढी समयदेखि ग्यास आपूर्ति नभएको स्टोर सञ्चालकहरू बताउँछन् । नेपाल आयल निगमका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्ट भने आपूर्तिमा कमी नभएको दाबी गर्नुहुन्छ । पश्चिम एसियाको तनावबाट त्रसित उपभोक्ताहरूले एक घरमा चार–पाँचवटासम्म सिलिन्डर भण्डारण गर्दा अभाव देखिएको उहाँको दाबी छ ।
अहिले भारतबाट दैनिक १०५ देखि ११० वटा ग्यास बुलेट नेपाल भित्रिरहेका छन्, जुन सामान्यभन्दा बढी हो । निगमले ग्यास विक्रेताहरूलाई आपूर्ति विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ र बढी मूल्यमा बेच्नेविरुद्ध वाणिज्य विभागमार्फत कारबाही अघि बढाउने तयारी छ । अमेरिका–इजराइलको आक्रमणपछि इरानले होर्मुज मार्ग अवरोध गरेको र तेल प्रशोधन क्षेत्रमा आक्रमण बढेपछि विश्वभर पेट्रोलियम पदार्थको भाउ र माग बढेको छ ।
यसैबीच निगमले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेहरूमाथि कारबाहीको चेतावनी दिएको छ । कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको, तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गरेको वा नयाँ सिलिन्डरको अनावश्यक बजारीकरण गरेको पाइए नेपाल सरकारको प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।











